पोखरामा एक घण्टा रोकिने छ सिचुवानको एयरबस, यात्रुका रुपमा भीआईपी र खेलाडी
zeenepal
२०८० असार ४,
3
Shares
काठमाडौं । व्या वसायिक उडानका लागि खुला भएको ६ महिनापछि बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको जहाज अवतरण गर्दैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति अनुसार जहाज नेपाली समय अनुसार ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्दैछ । यो जहाज पोखरामा १ घण्टा रोकिने छ । त्यसपछि जहाज ११ बजे काठमाडौं उड्ने गरी कार्यक्रम तय गरिएको छ ।
सिचुवानले पोखरामा न्यारोबडी ए३१९ जहाज ल्याउने गरी अनुमति पाएको छ । हिमालय एयरलाइन्सले परीक्षण उडान गर्नुबाहेक पोखरामा अवतरण गर्ने सिचुवान पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक कम्पनी हुने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार बुधबार बिहान हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारीको काम जारी छ । ‘हामी पहिलो उडानकै तयारीमा आज पनि जुटिरहेका छौं,’ उनले । उनका अनुसार जहाजमा चीनको छेन्दुबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली समेत आउने जानकारी दिइएको छ ।
तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माका अनुसार चीनबाट यो जहाजमा अध्यक्ष तिमिल्सिनासहित १३० जना यात्रु रहने छन् । अध्यक्ष तिमिल्सिना अहिले चीन भ्रमणमा छन् । उनले आफ्नो चिनियाँ भ्रमणबारे पोखरामै सञ्चारकर्मीलाई जानकारी समेत गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।
चिनियाँ दूतावासको सक्रियतामा पोखरामा हुँदैछ पहिलो चार्टर्ड उडान
मंगलबार पोखरामा अवतरण गर्ने जहाजमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आउँदैछन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ )मा फेस्टिभल हुँदैछ ।नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा फेस्टिभल आयोजना भएको हो । जसलाई पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले सहआयोजना गरेका हुन् ।फेस्टिभललाई होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)ले समेत सहयोग गर्दैछ । यस पटक चीनमा पहिलो अन्तर्राष्ट्रिय उडान सम्भव गराउन चिनियाँ दूतावासको सकारात्मक भूमिका रहेको बोर्डका एक अधिकारीले जानकारी दिए । यसले आगामी दिनमा चिनियाँ पर्यटकबीच पोखराको प्रचारमा समेत सहयोग पुग्ने बताए ।
नियमित उडान भने अझै अनिश्चितपोखरामा पहिलो चार्टर्ड उडान सम्भव भएपनि नियमित उडानको भने अझै टुंगो छैन । विमानस्थलका प्रमुख गौतमका अनुसार पोखरामा नियमित उडान गर्न सिचुवानसँग छलफल जारी छ । यद्यपि ठोस निर्णय केही भएको छैन ।पहिलो यो उडान सफल गराउनमै हामी जुटेका छौं,’ उनले भने, ‘त्यसपछि नियमित उडानका लागि पहल गर्छौं ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत नियमित उडानका लागि भने छलफल मात्रै भएको जनाएको छ । पोखरा चिनियाँ सहायतामा बनेको परियोजना हो ।