
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन् । विभागको अनुसन्धानमा अधिकांशले बंगलादेशबाट अन्तर्राष्ट्रिय विमानस्थलमै आएर ३० दिनको भिसा लिएको, त्यसपछि भिसा थप नगरी बसेको र पासपोर्ट एजेण्टले क्रोएसियाका लागि भिसा प्रक्रियामा भारत पुर्याएको बयान दिएको विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । ‘भारतबाट पासपोर्ट ल्याएर ओभरस्टेबापतको जरिवाना तिर्ने र भिसा नियमित गर्ने प्रक्रिया पूरा नगरेमा उनीहरुलाई सम्बन्धित देशमै निस्कासन गरिने छ, त्यसबेलासम्म होटल सञ्चालक जमानीमा बसेपछि छाडिएको हो,’ उनले भने ।
पछिल्लो पटक बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाई गरिएको छ । त्यसकारण भिसा प्रक्रिया भारतस्थित क्रोएसियाली दूतावासबाटै पूरा गरी गन्तव्यमा पुग्न उनीहरुले काठमाडौंलाई ट्रान्जिट बनाउने गरेका हुन् । यसका लागि एजेन्टलाई पैसा बुझाएर उनीहरु नेपाल आउने गरेको भेटिएको हो ।विदेश जानलाई ट्रान्जिट बनाउने गरेको बाहेक भीओआईपीबाट हुने ठगी, अनलाइन जुवालगायत कसुरमा पनि नेपालमा बंगलादेशी नागरिक पक्राउ पर्ने गरेका छन् ।
क्रोएसिया जान एजेन्टमार्फत उनीहरु नेपाल आएका रहेछन्, त्यस क्रममा नेपाल बसाइका लागि ३० दिनको मात्रै भिसा लिएको पाइयो तर त्यसरी भिसा लिएको कागजात र राहदानी पनि क्रोएसियाको भिसा लगाउन भारत पुर्याएको देखियो,’ निर्देशक दाहालले कान्तिपुरसँग भने, ‘बंगलादेशका नागरिकले पर्यटक भिसा लिएर १ वर्षमा १ सय ५० दिनसम्म बस्न पाउँछन्, तर नियन्त्रणमा लिइएकाहरुले ३० दिनको मात्रै भिसा लिएका र अवधि सकिइसकेपछि पनि बसेकाले तोकिएको जरिवाना र शुल्क तिरेर भिसा थप्न सक्ने व्यवस्था छ ।’