काठमाडौं । मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिक दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम लागू गर्न लागेको हो ।यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अब भोलिदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गरिने विभागले जनाएको छ । सोही अनुसार तयारी गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई यसअघि नै परिपत्र गरिसकेको थियो ।
विभागले असोज ११ गते सूचना जारी गर्दै असोज १५ गतेदेखि आईरिस सिस्टम लागू गर्ने भनेको थियो । तर, अन्तिम समयमा आएर रोकिएको थियो । विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पूरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो । तर, हालसम्म लागू हुन सकेको थिएन ।विभागले श्रमिकहरूलाई तालिमकमा लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारवाही गरेको थियो ।पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।

