
अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरेका थिए ।
संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रूपमा सहभागी रहेको जानकारी गराएका थिए ।
लोकतन्त्रका लागि, सबैका लागि भन्ने आदर्शमा अडिग रहँदै अन्तर व्यवस्थापिका संघले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक पद्दति र लोकतान्त्रिक संस्था प्रवर्द्धनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ।जनप्रतिनिधिमार्फत् विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्या अभिव्यक्त गर्न सकिने साझा मञ्चका रूपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्त्व विश्वमा झनै बढ्दै गइरहेको बताएका थिए ।
सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरेकी थिइन् । नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताइन् ।आईपीयूको सचिवालयलाई अझैं व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आईपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताएकी थिइन् । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।