काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप–२९ मा भाग लिन प्रस्थान गरेका छन् ।अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंहलगायतले विदाइ गरेका थिए ।
विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
ADVERTISEMENT