
सभामुखको सोही निर्णयविरुद्ध जनमतले विज्ञप्तिमार्फत गम्भीर आरोप लगाएको हो । 'दलले गरेको कारबाहीलाई बदर गर्दा संसद् सचिवालयले दलको सर्वोच्चतालाई मात्रै हनन गरेको छैन कि सभामुखले कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर गैरकानुनी, गैरसंवैधानिक, बहुदलीय संसदीय व्यवस्था तथा लोकतन्त्रमाथि नै आँच आउने गरी आपराधिक कार्य गरेको छ,' जनमतको विज्ञप्तिमा उल्लेख छ, 'यदि सभामुखलाई आफ्नो अधिकार क्षेत्रबाहिर गएर स्वेच्छाचारिता गर्न दिइयो भने यो एउटा नजिर कायम हुन्छ र यो लोकतन्त्रकै लागि ठूलो खतरा साबित हुनेछ ।'
सांसद सापकोटा सभामुख घिमिरेको नातेदार रहेको र एमालेमा प्रवेश गर्ने प्रतिबद्धता जनाएकाले कारबाही नगरिएको पनि जनमतको आरोप छ ।कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको पूर्व पार्टी नेकपा एमालेमा जाने बचनबद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनु पर्दछ,' जनमतको माग छ ।
सभामुखले विगतमा पनि संसद्मा भाषा र भेषभूषाको प्रयोग सम्बन्धमा, जनमत पार्टीसहित मधेस केन्द्रित दलका सांसदहरूलाई दिने विशेष समय र आकस्मिक समय सम्बन्धमा, रंगभेदविरुद्ध सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा र सो प्रस्ताव टेबल गर्ने सम्बन्धमा चरम नश्लवादी र रंगभेदी व्यवहार देखाउँदै आएको जनमतको आरोप छ । यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले सभामुख घिमिरेलाई भेटेरै सांसद सापकोटालाई पदमुक्त गर्न दबाब दिएका थिए । उनले उक्त भेटमा पनि सभामुखले पक्षपात गरेकाे आरोप लगाएका थिए ।