
उनले कार्यक्रममा २८ प्रतिशत नागरिकको जन्म दर्ता नरहेको समेत उल्लेख गरिन् । उनले बाबुको पहिचान नभएकाहरूको जन्म दर्ता बन्न नसक्ने समेत बताइन् ।पाण्डेले आमाको नामबाट नागरिकता प्रदान गर्ने विषय संविधान संशोधनमा सम्बोधन हुनुपर्ने तर्क राखिन् । नेपालको संविधानको भाग २ को धारा ११ को उपधारा २ मा ‘यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ’ उल्लेख छ । सो उपधाराको ‘क’ मा ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,’ र ‘ख’ मा ‘ कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।’ भनेर उल्लेख छ ।
डा. पाण्डेले पनि नेपालको संविधानको भाग २ को धारा ११ को उपधारा ७ पनि आवश्यक नरहेको बताइन् । नेपालको संविधानको भाग २ को धारा ११ को उपधारा ७ मा ‘यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ’ उल्लेख छ ।सो कार्यक्रममा सांसद रेखा शर्माले नेपालको संविधान संशोधनमा राजनीतिक मुद्दा मात्रै सम्बोधन भएको र अन्य विषयमा गम्भीरतापूर्वक छलफल नभएको बताइन् । उनले आमाको नामबाट नागरिकता प्रदान गर्न संविधानमा उल्लेख नहुँदासम्म अन्य कानुन बनाएर मात्र सम्भव नहुने तर्क राखिन् ।