
अध्यक्ष पञ्चा सिंहले उमेर हदबन्दी विवाद र त्यसपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिइन् । उनका अनुसार नयाँ नेतृत्वका लागि उमेर हदबन्दी ३२ वर्ष राख्ने वा नराख्ने विषयमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाइनेछ । उमेर हदको सम्बन्धमा प्रत्येक जिल्लामा मतदान केन्द्र राखिएको छ । 'उमेर हदबन्दबारे निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाएपछि केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया सुरु हुन्छ । त्यसका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ', उनले भनिन् ।
नयाँ नेतृत्वका लागि यही पुस १५ गते उम्मेदवारी दर्ता र १७ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने गरी कार्यतालिका प्रकाशन गरिएको छ । मतदान सात प्रदेशसहित नौवटा प्रदेशस्तरीय मतदान केन्द्रको व्यवस्था गरिएको छ । ३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्न दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्ने क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए ।