
नेपालमा व्यावसायिक रूपमा कन्ये, गोव्रे, सिताके, पराले, ग्यानोडर्मा लगायतका च्याउहरूको खेती भइरहेका छन् र बढी तापक्रम (४० डि.से.) मा पनि सहजै उत्पादन गर्न सकिने दुधे च्याउ खेती प्रविधि पनि विकास भएर व्यावसायिक खेती सुरु भइरहेको छ ।
यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलीकरण, प्रशोधन, गुणस्तरीय बिउ उत्पादनमा पनि अनुसन्धान भई प्रविधिहरू पनि आइसकेको मन्त्री अधिकारीले बताए । ‘च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएकाले अबको हाम्रो ध्यान स्वदेश मै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने छ’ उनले भने ।व्यावसायिक रूपमा प्रवर्द्धन गर्नका लागि आज पुस १५ गते सङ्घले च्याउ मेला आयोजना गरी राष्ट्रिय च्याउ दिवस मनाउँदै छ । एकदिने मेलामा ४० वटा स्टलहरूमा च्याउका प्रदर्शनी रहेका छन् । मेलामा च्याउका विभिन्न परिकारको विभिन्न प्रदर्शनी समेत गरिएको छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा छ ।