
बैठकमा नेपालबाट गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले र भारतबाट गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशिष कुमारले नेतृत्व गरेका थिए । नेपालबाट कानुन मन्त्रालयका सहसचिव, अध्यागमन र नापी विभागका महानिर्देशक तथा नेपाली दूतावासका उपप्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित १४ जना थिए ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपाली पक्षले सीमाक्षेत्रमा भारतका तर्फबाट निर्माण गरिएका कतिपय संरचनाले नेपाली बस्ती डुबान हुने गरेका विषय पनि उठाएका थिए । एजेन्डाकै रूपमा भने उक्त विषयले बैठकमा प्रवेश पाएको थिएन । दुई देशबीच सुपुर्दगी सन्धिका विषयमा पनि छलफल भएको थियो तर त्यसबारे कुनै सहमति भएन । ‘कार्यदलको क्षेत्राधिकार सीमा व्यवस्थापनको विषयमा मात्रै रहेकाले त्यसमा मात्रै छलफल भयो,’ ती अधिकारीले भने ।