वीरगंज - वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीको १३औँ वार्षिकोत्सव शनिवार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित सांस्कृतिक तथा खेलकुद कार्यक्रममार्फत वार्षिकोत्सव मनाइएको हो।
एकेडेमीका फाउन्डर–डाइरेक्टर सुशीला साह र जोशना गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य इन्जिनियर विशाल साहले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेहा अग्रवाल र स्वरुपा पौडेलले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले वार्षिकोत्सवको उद्घाटन गर्दै आज र भोलि आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले नवदीप एकेडेमीलाई नमुना विद्यालयको रूपमा स्थापित गरेको बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, संस्कृति तथा अतिरिक्त क्रियाकलापमा निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्नुभयो।
उहाँले वर्षभरि सञ्चालन हुने शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूको उपलब्धि वार्षिक उत्सवमार्फत अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने हुँदा बालबालिकाको सिकाइ वातावरण बुझ्न सहज हुने धारणा व्यक्त गर्नुभयो।
प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामाले अभिभावकहरूलाई बालबालिकाको अत्यधिक मोबाइल प्रयोगप्रति सचेत रहन आग्रह गर्नुभयो। मोबाइलको बढी प्रयोगले विद्यार्थीको अध्ययन तथा मानसिक विकासमा नकारात्मक असर पार्ने भन्दै सन्तुलित प्रयोगमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा प्याब्सन जिल्ला सदस्य मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईलगायतले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै अभिभावक तथा दर्शकहरूको मन जितेका थिए। कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले नवदीप एकेडेमीको शैक्षिक गुणस्तर, अनुशासन र बहुआयामिक विकासको खुलेर प्रशंसा गरेका छन्।
ADVERTISEMENT

