प्रदेश खारेज नगरे देश अझै समस्यामा पर्नेछ : चित्रबहादुर केसी
zeenepal
२०८१ माघ ८,
9
Shares
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज नगरे देश अझै आर्थिक संकटमा फस्ने बताएका छन् । उनले प्रदेशको अनावश्यक खर्च कटौती गरेर शिक्षा र स्वास्थमा राज्यले लगानी गर्नु पर्ने बताएका हुन् ।देशलाई बचाउने हो भने प्रदेश खारेज गर्नु पर्ने बताउँदै प्रदेश सरकारमा धेरै विकृति तथा बेथिति देखिएको जिकिर गरे । मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’ को घोषणा कार्यक्रममा बोल्दै केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताए ।
उनले संघीयता स्वीकार गर्ने ठुला दलहरू पनि यसबाट पार लाग्दैन भन्नेमा पुगिसके पनि बाहिर बोल्न मात्रै नसकेको बताए । राजनीति गर्ने भनेको कमाउन हो भन्ने भाष्य सृजना भएकाले दलहरूप्रति जनताको दृष्टिकोण राम्रो नरहेको उनले विश्लेषण सुनाए । यस्तै, अध्यक्ष केसीले रवि लामिछाने पटक पटक गृहमन्त्री बन्न खोज्नुको कारण सहकारी काण्डबाट बच्न रहेछ भन्ने अहिले आएर पुष्टि भएको बताए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले चैत्र २४ गतेदेखि ३० गतेसम्म गर्ने संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका रुपन्देही अध्यक्ष टानबहादुर केसीले मंसिर महिना भरी जिल्लादेखि टोलसम्मका बैठक तथा भेलाहरू गर्ने कार्यक्रम तय भएको जानकारी दिए । यस्तै उक्त आन्दोलनलाई सफल बनाउनका लागि जिल्लाव्यापी पर्चा वितरण, भेटघाट, भित्ते लेखन गर्नुका साथै माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभा गर्ने कार्यक्रम तय भएको बताए ।
यस्तै फागुन ३ गते बुटवलदेखि सुनौलीसम्म मोटरसाइकल र्यालीको आयोजन गर्ने कार्यक्रम तय भएको अध्यक्ष उनले बताए । साथै यही माघ ५ गते बुटवलमा विभिन्न प्रबुद्ध व्यक्ति, राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न गरिसकेको अध्यक्ष केसीले बताए ।आन्दोलनको पक्षमा वातावरण बनाउनका लागि पुस २१ गतेदेखि फागुन १० गतेसम्म सङ्गठनात्मक अभियानलाई तीव्रता दिने उनले बताए ।