काठमाडौँ — एमाले सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशीध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले चार जना प्रधानमन्त्री फेरिए पनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।उनले त्यहाँका जनता आक्रोशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउन सक्ने बताए । उनले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्ड स्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गरे ।
उनले भने, ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुङ्गा खाने स्थिति बन्यो अब । दोस्रो, काभ्रेले काठमाडौँका उपभोक्ताहरूलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पकेट क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्ड स्टोर सरकारले बनाओस् । अगाडि बजेटमा यो व्यवस्था गर्न माग गर्दछु ।’
ADVERTISEMENT

