खेलकुदमन्त्री चौधरी भन्छन् : भूलवशले ‘श्री ५ को सरकार’ भयो भन्दै माफी मागे
zeenepal
२०८१ माघ २९,
36
Shares
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले टाइपमा त्रुटि भएकाले नेपाल स्काउटको नियमावलीमा 'श्री ५ को सरकार' हुन गएको स्पष्ट पारेका छन् । सोमबार उनले नेपाल स्काउटलाई पत्र लेख्दै नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन २०८१) को अनुसूची ४(क) को १ र ४(ख) को ४ मा टाइपमा त्रुटि भई नेपाल सरकारको सट्टा 'श्री ५ को सरकार' हुन गएको बताएका छन् । स्काउट राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले पठाएको पत्रमा भनिएको छ, 'श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग - १ धारा-१ मा यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्चयाई नियमावलीमा उल्लेखित श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ ।मन्त्री चौधरीले 'श्री ५ को सरकार' लेखेपछि सामाजिक सञ्जालसम्म सदनसम्म उनको आलोचना भएको थियो । सोमबार राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीसँग यसबारे जवाफसमेत मागेका थिए । ‘युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो कि ? संशोधन भइसक्यो बुझ्न चाहन्छु,’ सांसद शर्माको प्रश्न थियो ।
देश गणतन्त्रात्मक व्यवस्थामा गइसकेपछि पनि नेताहरूले विभिन्न समयमा भाषण र दस्ताबेजमा 'श्री ५ को सरकार' भन्ने गरेका छन् । २०७७ साल माघमा तत्कालीन खानेपानी मन्त्री मणि थापाले एउटा भाषणमा 'श्री ५ को सरकार' भनेका थिए । तत्कालीन नेकपाका नेतासमेत रहेका उनले सुर्खेतमा आयोजित एक कार्यक्रममा भनेका थिए, 'सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरूलाई लाल सलाम भन्न चाहन्छु ।' सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि थापाले भूलवश त्यस्तो हुन गएको भन्दै माफी मागेका थिए ।