नागरिकको माग अनुसार विकासका आयोजनाहरू परिचालन हुनुपर्छ : सिंह
zeenepal
२०८१ फाल्गुन १,
9
Shares
हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको माग अनुसार सरकारले विकासका आयोजनाहरू परिचालन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका सम्भावनाहरूको पहिचानसहित विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट परिचालन गर्नुपर्ने बताएका छन् ।हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजित समारोहमा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले स्थानीय तहमा भौगोलिक विषमताका बिच थुप्रै अवसरहरू रहेको बताए ।स्थानीय तहले समस्या र चुनौतीलाई व्यवहारिक तथा प्रक्रियागत रूपमा व्यवस्थापन गर्नुपर्ने मन्त्री सिंहले बताए ।
हेटौँडा उपमहानगरपालिकामा रहेका समस्याहरूलाई सही ढङ्गबाट व्यवस्थापन गर्ने र नागरिकको आवश्यकता अनुसारको विकासका काममा असर भइरहेको उनको भनाई छ ।हेटौँडाले व्याप्त कुरीति हटाउन एक्सनमा उत्रिएर वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको छ’ उनले भने– ‘हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको छ । नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा हेटौँडा पुगेको छ । उपमहानगरपालिका क्रमशः रूपमा समस्या र चुनौतीहरूको व्यवस्थापन सहित त्यसतर्फ अग्रसर भइरहेको छ ।’मन्त्री सिंहका अनुसार बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको छ । परिवारबाट पनि बालबालिकामा आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने उनले बताए बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारले काम गर्नुपर्ने उनको भनाई छ । उपयुक्त योजना र रणनीति सहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनु उनले जोड दिए । घोषणाभन्दा पनि दिगोपनमा गम्भीर बन्नुपर्ने उनको भनाई छ ।