पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा
zeenepal
२०८१ फाल्गुन ८,
90
Shares
ताप्लेजुङ,– लिम्बू समुदायको आस्थाको केन्द्र मुकुमलुङ (चोतलुङ) को संरक्षणका लागि आजदेखि ताप्लेजुङमा व्यापक पदयात्रा सुरू भएको छ। नो केवलकार अभियानअन्तर्गत आयोजित यस आन्दोलनमा स्थानीय अधिकारवादी, पहिचानवादी नागरिक तथा विभिन्न क्षेत्रबाट आएका आन्दोलनकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ । पदयात्राको उद्घाटन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको उपस्थिति रहेको थियो। साथै, लिम्बू समुदायका अगुवा, अधिकारकर्मी, विद्यार्थी, स्थानीय बासिन्दा तथा अभियन्ताहरूले मुकुमलुङ क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै सांस्कृतिक तथा धार्मिक पहिचानको रक्षा गर्न माग गरेका छन्।
यस आन्दोलनलाई ध्यानमा राख्दै संघीय सरकारले ताप्लेजुङका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। सामुदायिक प्रहरी र सशस्त्र प्रहरीको तैनाती बढाइएको छ भने आन्दोलनकारीहरूको गतिविधि निगरानीमा राखिएको छ। सम्भावित प्रहरी हस्तक्षेपको आशंका पनि गरिएको छ।राष्ट्रिय मुक्ति पार्टीका नेताहरू रमन पाण्डेय, सन्तोष मेहता, सीएम थारू, प्रेम थुलुङ, बेबीराज भण्डारी लगायतका नेताहरू आन्दोलनमा सहभागी भएका छन्। रमन पाण्डेयले आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाइने तर यदि राज्य पक्षबाट दमन भए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्
आन्दोलनकारीहरूले सरकारलाई धार्मिक तथा सांस्कृतिक आस्थामाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन्। उनीहरू मुकुमलुङ संरक्षणका लागि दृढ रहेको बताउँदै केवलकार परियोजना तत्काल स्थगन गर्न माग गरिरहेका छन्। राजेन्द्र महतोले भने, "कसैको धर्म विनाश गर्ने अधिकार कसैलाई छैन। आज शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराउँछौँ, तर यदि केवलकार परियोजना तुरुन्त बन्द गरिएन भने हामी चरम आन्दोलन गर्नेछौँ। सरकार पछि हट्नैपर्छ।"आन्दोलनको आगामी घटनाक्रम तथा राज्यको व्यवहार कस्तो रहनेछ भन्ने प्रतीक्षा गरिएको छ।