मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन
zeenepal
२०७९ असार ७,
3
Shares
काठमाडौं ७ असार।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गरे । “राष्ट्रियसभाको बैठकमा मूल्यवृद्धिजस्तो गम्भीर जनसरोकारका विषय उठिरहेको छ । आज पनि यहाँहरूले यो विषय उठाउनुभएको छ, सदनमा उठेका विषयमा संसदमार्फत जनतालाई जवाफ दिनु सरकारको दायित्व पनि हो । यसतर्फ म सरकराको गम्भीर ध्यानाकर्षण गराउँछु । अर्को बैठकमा संसद्मा दिन निर्देशन गर्दछु ।” उनले भने ।
अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूहरुको विरोध रहिरहने बताए । एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले आजको कार्यसूचीमा रहेको विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगनको घोषणा गरे ।