काठमाडौं। भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका केही नेपाली विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा सम्पर्क गरेका छन् । उनीहरुले इमेलमार्फत त्रिविमा सम्पर्क गरेका हुन् ।त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले केआईआईटीमा भएको समस्याको कारण नेपाल फर्किन बाध्य नेपाली विद्यार्थीलाई भर्ना गर्न सकिने सूचना जारी गरेका थिए । यी विश्वविद्यालयले विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने बताइरहेका छन् ।सूचना जारी भएपछि त्रिभुवन विश्वविद्यालयमा १५/१६ जना विद्यार्थीको इमेल आएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरूले इमेलमार्फत सम्पर्क गरिरहेका छन् । क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिन्छ ।’त्रिविका शिक्षाध्यक्ष केसीले विज्ञप्ति जारी गर्दै केआईआईटीमा भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूलाई भर्ना गर्न सकिने स्पष्ट पारेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयले पनि विदेशमा विद्यार्थीले पढिरहेका विषय यता पनि मिल्ने भएमा क्रेडिट आवर ट्रान्सफर गरेर भर्ना गर्ने बताएको छ ।विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासनकै निर्देशनमा दुर्व्यवहार तथा कुटपिट भएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किन बाध्य थिए ।
ADVERTISEMENT

