
वन कार्यालयले निजी खानी क्षेत्र यकिनका लागि प्राविधिक खटाई सहयोग गरिदिन नापी कार्यालय ललितपुर र खानी तथा भूगर्भ विभाग लैनचौरलाई अनुरोध गरेको थियो । जसअनुसार नापीबाट दुर्गाप्रसाद उपाध्याय र विभागबाट तेजेन्द्रकुमार यादवलाई प्रतिनिधि तोकिएको थियो । यसैगरी डिभिजन वन कार्यालयबाट सुमन घिमिरे र बज्रबाराही सब–डिभिजन वन कार्यालयबाट रामशरण महर्जनलाई फिल्ड नापजाँच तथा विवरण संकलनका लागि खटाइएको थियो ।
खानी क्षेत्र जाँचबुझ समितिले निराकार रोडाढुंगा उद्योग प्रालि, मछिन्द्रनाथ मल्टी प्रपोज प्रालि र वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिले गोदावरी ६ मा स्वीकृत खानी क्षेत्र बाहिरसमेत उत्खनन गरेको पाइएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको थियो । जसअन्तर्गत स्वीकृत क्षेत्रबाहिर एक लाख ४ हजार ५०४ घनमिटर उत्खनन गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।उनीहरूले वन फाँड्ने, वन क्षेत्रको जग्गा खन्ने, अतिक्रमण गर्नेलगायत काम गरेकाले वन अपराध कसुरमा ५ वर्षसम्म कैद र ६ करोड ५७ लाख १२ हजार ६९ रुपैयाँ बिगो दाबी गरिएको छ ।