न्यायाधीश कोइराला र वकिल पोखरेललाई कारबाही गर्न राप्रपाको माग
zeenepal
२०७९ असार ९,
3
Shares
काठमाडौं ९ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेललाई कारबाही गर्न माग गरेको छ ।
कोइराला र पोखरेलबीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राप्रपाले न्याय परिषदलाई पत्र लेखेर उनीहरुलाई पदबाट हटाई कारबाही गर्न माग गरेको हो ।राप्रपाका एकजना प्रवक्ता ज्ञानेन्द्र शाहीले न्याय परिषदलाई बुझाएको पत्रमा न्यायालयप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिइ कानुनी राज्यको प्रत्याभूति दिलाउन न्यायाधीश कोइरालालाई आइन्दा कुनै पनि न्यायीक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कारबाही गर्न माग गरिएको छ ।
पत्र बुझाउँदै शाहीले भनेका छन्, ‘ एउटा फुटपाथमा कपडा बेच्नेलाई हिरासतमा लगेर अनुसन्धान गर्न मिल्ने, करोडौं रकमको घुस बार्गेनिङ गर्ने न्यायाधीशलाई हिरासतमा लगेर किन अनुसन्धान गर्न नहुने ?’
न्यायाधीश कोइराला र वकिल पोखरेलबीच बैंकिङ कसुरमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोड लेनदेन सम्बन्धी कुरा गरेको अडियो सार्वजनिक भएको थियो ।सो अडियो सार्वजनिक भएपछि न्याय परिषदले न्यायाधीश कोइरालामाथि छानबिन गर्न न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।यसैगरी नेपाल बार एशोसिएसनले वकिल पोखरेलसँग स्पष्टीकरण सोधेको छ ।