शिक्षा,मन्त्री रघुजी पन्त वार्ताको लागि शिक्षक महासंघका नेतापर्खाइमा
zeenepal
२०८२ बैशाख १६,
6
Shares
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको लागि शिक्षक महासंघका नेताहरू पर्खिरहेका छन् ।आइतबार राति अबेरसम्म भएको वार्ता सहमतिनजिक पुगेको र सोमबार बसेर टुंगो लगाउने भनिएकाले आज पुनः वार्ताका लागि मन्त्री पर्खाइमा छन् । सरकारसँगको वार्ताअघि शिक्षक महासंघ अन्तरिक छलफलमा बसेको छ ।मन्त्रीज्यू बिहानैदेखि मन्त्रालयमा वार्ताको लागि तयार हुनुहुन्छ । शिक्षक महासंघका नेताहरूलाई पर्खिरहनु भएको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘आइतबार राति भएको वार्तामा एक खालको सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन बाँकी हो ।’
शिक्षा मन्त्रालयमा एउटा ड्राफ्ट पनि बनेको छ । जसमा मन्त्रिपरिषद्बाट गर्न सकिने निर्णयका बुँदा रहेका छन् । ‘केही विषयमा सहमति जुट्न बाँकी छ । सहमति भएपछि मन्त्रिपरिषद्बाट निर्णय गराउने तय भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन् । त्यसैलाई टेकेर सहमतिको प्रयास भइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । केही बुँदा थपघट भए पनि त्यसैमा केन्द्रित भएर छलफल अगाडि बढेको उनीहरूको भनाइ छ ।
७ बुँदे प्रस्तावमा ईसीडीका शिक्षकको तलब १७ हजार ३ सय बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादा क्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था लगायतका विषय समावेश छन् ।ऐन जारी हुने ग्यारेन्टी र सेवा–सुविधासम्बन्धी माग मन्त्रिपरिषद्बाट निर्णय भए आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक महासंघ तयार छ ।
पुनः वार्तामा बस्नुअघि अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । ‘हामी बैठकमा छौं । आन्दोलनको समीक्षा गर्न बैठक बोलाइएको हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । महासंघको बैठकपछि सरकारसँग वार्ता गर्ने तयारी छ । कतिबेला बस्ने भन्ने समय तय भएको छैन ।