काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले मंगलबार साढे ११ बजे श्वेतपत्र जारी गर्ने जनाएको थियो । तर मंगलबार केही प्राविधिक कारणले गर्दा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जारी गर्ने श्वेतपत्र कार्यक्रम स्थगित गरेकेो जनाएको हो ।शाक्यको सचिवालयले अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको अध्यक्षतामा सोमबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त श्वेतपत्र स्वीकृत गरिसकेको छ ।
सञ्चालक समितका एक सदस्यले सोमबार नै श्वेतपत्र स्वीकृत गरिसकेकाले त्यसमा उल्लेखित तथ्यांकहरु मिलाएर सार्वजनिक गर्ने कार्यक्रम तय भइसकेको थियो ।तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर ९९ प्रतिशत विद्युतीकरण भएको बताउँदै आएका थिए । तर प्राधिकरणले तयार पारेको श्वेतपत्रमा विद्युतीकरण ९१.४१ प्रतिशतमा पुगेको उल्लेख छ । यस्तै, ०८१ माघसम्म कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको उल्लेख गरिए पनि घिसिङले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जनाएका थिए ।'मंगलबार उक्त श्वेतपत्र सार्वजनिक हुन्छ भन्ने नै थियो,' ती सदस्यले भने, 'देशभरको विद्युतीकरणदेखि विद्युत्को पहुँच पुगेका घरपरिवारको संख्या पहिलाको भन्दा कम थियो ।त्यसैले त्यसलाई मिलाउन बोर्ड बैठकले निर्देशन दिएको थियो ।'
सोमबार बसेको बोर्ड बैठकले थप केही निर्देशन नदिएको ती सदस्यले जनाए । मंगलबार बोर्ड बैठकको थप निर्देशन आएकाले तय गरिसकिएको कार्यक्रम स्थगित भएको प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकार बताउँछन् । 'बोर्ड बैठकको थप निर्देशन आएको छ, सोअनुसार तयारी श्वेतपत्रमा काम गर्नु पर्छ,' उनले भने ।

