
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले यदुनाथ खनाललाई उद्रित गर्दै कूटनीति भनेको एक किसिमको ‘वार्ता कला’ भन्दै यसमा नेपालको तयारी अझै पनि कमजोर रहेको औँल्याए । ‘चीनजस्ता शक्तिशाली देशसँग वार्ता गर्दा रणनीतिक चासो नबुझी अघि बढ्दा त्यसले खतरा निम्त्याउन सक्छ,’ उनले भने ।
सीईएसआईएफका अनुसन्धान निर्देशक अजयभद्र खनालले चीनसँगको कुटनीतिक वार्तामा नेपालमा व्याप्त भ्रष्टाचार, ऋणको बोझ र परियोजनाको अव्यवहारिकताजस्ता विषय चुनौतीका रूपमा रहेको विश्लेषण गरे । उनले राजनीतिकर्मी नभइ परराष्ट्र मामिलाका निकायहरूको नेतृत्वमा देशको हितअनुकूल र रणनीतिक रूपमा स्वायत्त वार्ताहरू आवश्यक रहेकोमा जोड दिए ।
सेमिनारमा दुइवटा प्यानल छलफल आयोजना गरिएको थियो । पहिलो प्यानलमा सहभागी पूर्वयोजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, पूर्वप्रमुख सचिव शंकरदास बैरागी, पूर्वअर्थ सचिव मधुकुमार मरासिनी र पूर्वराजदूत शर्मिला पराजुली ढकालले संस्थागत स्पष्टता, रणनीतिक चेतना र राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए ।
दोस्रो प्यानलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, सांसद शिशिर खनाल, माधव सापकोटा र पूर्वअर्थसचिव रमेश्वर खनालले परराष्ट्र नीति निर्माणमा समन्वय, अनुसन्धान आधारित नीति, पारदर्शिता र दीर्घकालीन दृष्टिकोणको खाँचो रहेकोमा जोड दिए ।वक्ताहरूले अन्तर्राष्ट्रिय कूटनीतिक वार्तामा नेपालले सशक्त उपस्थिति जनाउन स्पष्ट रणनीति, सुदृढ संस्थागत संयन्त्र र अनुभवी वार्ता टोलीको विकास गर्नु अत्यावश्यक रहेकोमा समान धारणा साझा गरे ।