
नेपालगंज बैशाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको अयोजनामा नेपाल बाढी सामान्य पूर्वकार्य प्रोटोकल पुनर्ताजकी तथा योजना तर्जुमा कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा बाँके बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाहरुमा उक्त गतिविधि संचालन हुनेछ । बाढी विपद्को उच्च जोखिममा रहेका २२ वटा समुदायलाई लक्षित गरिएको छ । कार्यक्रमबाट १० हजार जना लाभाविन्त हुने बताइएको छ ।
कार्यक्रममा नेरेसो बाँके शाखाका का.बा. सभापति शान्ति श्रेष्ठले बाढी विपद्बाट प्रभावित हुने समुदायलाई हेरेर योजना निर्माण गर्ने र विपद् पूर्व समुदायलाई सचेत गराउन अनुरोध गर्नु भयो ।नेरेसो कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले स्थानीय तहको नेतृत्वमा रेडक्रसले विपद् व्यवस्थापनमा प्राविधिक सहयोग गर्नुका साथै स्वयंसेवक परिचालन गरी समुदायलाई सहयोग गर्दै आएको स्मरण गराउनु भयो ।कार्यक्रममा बाँके, बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाका विपद् फोकल पर्सन र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
नेरेसो बाँके शाखाका का.बा.सभापति शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी र उद्देश्य माथि प्रकाश नेरेसो केन्द्रीय कार्यालय आपत्कालीन कार्यसंचालन केन्द्रका संयोजक डम्बरबहादुर विष्टले पार्नु भएको थियो, अभिमुखीकरणको सहजीकरण नेरेसो विपद् व्यवस्थापन विभागका प्रमोद अधिकारी गर्नु भएको थियो भने जलवायू परिवर्तन सम्बन्धी नेरेसो केन्द्रका विवेक कयस्थले प्रस्तुतीकरण गर्नु भएको थियो ।