कीर्तिपुर — आगामी पुसभित्र नागढुंगा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० प्रतिशत भौतिक प्रगति भइसकेको र हाल १० प्रतिशत काम मात्र बाँकी रहेको नागढुंगा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको परामर्शदाता संस्था निप्पन कोइकाका इञ्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी गराए ।अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा तिनको संयोजन भइरहेको छ । सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,' इञ्जिनियर कोइरालाले भने, 'अहिले उक्त सञ्चालक निकायको छनोट प्रक्रिया अगाडि बढिरहेको छ र छनोट भएपछि तालिम लिनुपर्ने हुन्छ, जसमा दुई महिना जति लाग्न सक्छ ।'
उनका अनुसार सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरूङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार तथा सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) उपलब्ध गराउने कार्यलाई अन्तिम रूप दिइँदैछ ।पूर्वी मुख काठमाडौँको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने २ दशमलव ७ किलोमिटर लामो सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धारलगायत कार्यका लागि सहायक सुरूङसमेत खनिएको छ ।
सञ्चालनमा आएपछि नागढुंगादेखि बलम्बुसम्मको भौतिक दूरी करिब तीन किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा देखिने जाम, उकालो र घुमाउरो बाटोजस्ता कारण इन्धन तथा सडक प्रयोगकर्ताको करिब एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ । सुरूङमार्ग निर्माणका क्रममा देखिएका भौगोलिक अनिश्चितता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको कोइरालाले बताए । सुरूङमार्गमा निस्किने पानीको व्यवस्थापनबारे स्थानीय बासिन्दा,चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराए ।सिस्ने खोलातर्फ निर्माण गरिँदै आएको पार्कको काम भने जग्गाको स्वामित्वसम्बन्धी विवादका कारण स्थगित गरिएको छ । मालपोत दस्तावेजमा सो जग्गा धनीको नामअन्तर्गत सडक विभाग र व्यक्तित्व दुवैको नाम परेकाले त्यहाँ अप्ठ्यारो भएको कोइरालाले बताए ।

