काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले ३ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् ।गभर्नर पौडेलले डा. गुणाकर भट्ट, डा. रामशण खरेल र विश्रुत थापाको जिम्मेवारी परिवर्तन गरेका हुन् ।गभर्नर दौडमा नेपाली कांग्रेसको कोटाबाट अघि सारिएका भट्टले राष्ट्र बैंक अनुसन्धान विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए । गभर्नर हुने पक्का भएपछि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए ।
तर, उनको राजिनामा कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि सोही बहानामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर बनाउन नमिल्ने भनेका कारण कांग्रेसका अर्का उम्मेदवार बनेका पौडेल गभर्नर नियुक्त भएका थिए ।भट्टको राजीनामा पछि केन्द्रीय बैंकको अनुसन्धान विभाग नेतृत्वविहीन भएको थियो ।
नवनियुक्त गभर्नर पौडेलले राजीनामा दिएर विदेश गएका भट्टलाई गभर्नरको कार्यालयमा तानेका छन् । अनुसन्धान विभागको प्रमुखमा कार्यकारी निर्देशकमा डा. रामशरण खरेललाई ल्याइएको छ ।त्यसैगरी बैंकिङ कार्यालयमा रहेका थापालाई जनशक्ति व्यवस्थापन शाखामा पठाइएको राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए ।आचार्यका अनुसार भट्टको राजीनामा स्वीकृत/अस्वीकृत केही नभनी जिम्मेवारी हेरफेर गरिएको छ । भट्टको राष्ट्र बैंकको सेवा अवधि आगामी असोज १७ सम्म छ ।
ADVERTISEMENT

