काठमाडौं १० असार। पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् ।पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,' आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, 'पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।'
एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, 'त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।'