काठमाडौं १२ असार। सभामुख अन्नीप्रसाद सापकोटाले नागरिकता विधेयक पारित गर्नका लागि संसद्मा रहेका राजनीतिक दलका शीर्ष नेताहरूसँग चरणबद्ध कुराकानी भइरहेको बताएका छन् । नागरिकता विधेयक पारित नहुँदा ठूलो संख्यामा नागरिक अन्यायमा परेको भन्दै सभामुख सापकोटाले संघीय संसद्को चालु बजेट अधिवेशनबाट पारित गर्ने प्रयास जारी रहेको बताए ।संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको 'संसदीय समिति अभ्यास : पहिलो संसद्देखि संघीय संसदसम्म' पुस्तक विमोचन कार्यक्रममा आइतबार सभामुख सापकोटाले नागरिकता विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको जानकारी दिए । ‘संसद्मा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरू म भए ठाउँमा आएका छन् । धेरै मार्मिक कुरा छ । युवाहरू उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन्,' उनले भने, 'अध्ययन गर्ने सुनौला अवसर गुमिरहेका छन् । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ भनेर मैले राजनीतिक पार्टीका नेताहरूसँग धेरै चरणमा कुरा गरेको छु ।'
नागरिकता विधेयकसँगै अन्य मुख्य विधेयक पारित गर्न सकेमा जनताका पक्षमा संसद्ले काम गरिरहेको छ भन्ने देखाउन र अनुभूति दिलाउन सकिने सभामुख सापकोटाको भनाइ थियो । 'प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ । त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरू पनि पास गर्न सकिन्छ । बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरू पास गर्न सक्यौं भने जनतालाई गर्दा हुने रहेछ भन्ने हुने थियो । गर्दैछ भन्ने आश लाग्ने थियो,’ उनले भने । संसद्बाट कतिपय विधेयक पारित गर्न नसकिँदा देशलाई क्षति भएको उनको भनाइ थियो ।

