बाँकेको १ सय ९४ जना पत्रकारको आइतबार निःशुल्क आँखा जाँच गरे
zeenepal
२०८२ असार २,
24
Shares
नेपालगन्ज : बाँकेका अधिकांस पत्रकारको आँखामा दूरदृष्टिको समस्या देखिएको छ । पत्रकारहरुको निःशुल्क आँखा जाँच गर्ने क्रममा यस्तो समस्या पत्ता लागेको हो । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगन्जको आयोजना एवम नेपाल पत्रकार महासंघ बाँकेसँगको सहकार्यमा जिल्लाका १ सय ९४ जना पत्रकारको आइतबार निःशुल्क आँखा जाँच गरेको थियो ।नेपालगन्ज ४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा र औषधि वितरण गरियो । चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँचको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता एवम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताए । संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गरे ।स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवीहरु हरिष गुप्ता, शिव कुमार बर्मा लगायतले स्वर्गीय गौरबले संस्थामा गरेको योगदानको चर्चा गर्दै संस्थाले गरिरहेको सामाजिक कामहरुको प्रशंसा गरेका थिए ।
दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । गौरबको चार बर्षअघि निधन भएको थियो । उनको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारलाई सहयोगसँगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताएका छन् ।