एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
zeenepal
२०८२ असार ४,
15
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद् रेखा शर्माले सत्तारुढ दल नेकपा एमालेले संसद् खुलाउन नचाहेको बताएकी छन् । बुधबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेकी सांसद शर्माले यस्तो बताएकी हुन् । शर्माले केही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधलाई पेलेर लिने एमालेले मंगलबारको बैठक भने रास्वपाको विरोधको बहाना बनाएर निजामती सेवा विधेयकलाई अघि बढाउन नखोजेको आरोप समेत लगाइन् ।
उनले भनिन्, ‘नेकपा (एमाले) संसद् खुलाउन चाहेको छैन । हामीले विरोध जनाउँदासम्म बहाना भइरहेको थियो । हिजो निजामती सेवा विधेयकमाथि छलफल गरेर पारित गर्ने कार्यसूची भएकाले किन रोकियो संसद् बैठक ? यत्रा दिन रास्वपाको नारा जुलुसका बिचमा पनि पेलेर लिनेले हिजो किन पेलेर जान सकेन ? समितिबाट २ वर्ष कुलिङ पिरियड पारित भइसकेको छ । समितिका सभापतिको अडान पनि कायमै छ । तर, कुलिङ पिरियड राख्न प्रधानमन्त्री केपी शर्मा ओली नै रुचाउनुहुन्न ।’
संसदीय समितिबाट पारित भएको निजामती सेवा विधेयकका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको र त्यसलाई सरकारले पुन: फिर्ता लिन चाहेको उनले बताइन् ।उनले भनिन्, ‘समितिबाट पारित भएको विधेयकका विषयमा मन्त्रिपरिषद्मा किन छलफल भइरहेको छ ? उस्तै परे अहिलेको प्रधानमन्त्री र सरकार निजामती विधेयक फिर्ता लिने तयारीमा छ भन्ने पनि सुनिएको छ ।’माओवादीलाई दोषी देखाएर सङ्घीयता कार्यान्वयन सम्बन्धी ऐन, कानुन नबनाउने सरकारको बहाना बन्द भएको समेत उनले बताइन् ।
अब माओवादीलाई देखाएर सङ्घीय निजामती सेवा विधेयक पारित गर्न सकिएन भन्ने बहानालाई अन्त्य गरेका छौँ । शिक्षा विधेयक पनि माओवादीले गर्दा पारित हुन सकेन भन्ने बहाना गर्ने दिन पनि गएका छन्,’पूर्व मन्त्री शर्माले भनिन् ।