काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वाेच्च अदालत तानिएका छन् । उनीहरूलाई न्याय परिषदले काजमा सर्वाेच्च तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको हो ।
न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मङ्गलवार र त्यसअघि जेठ १६ गते युवराज पौडेल सफलले उजुरी दिएका थिए ।