
सरकारले ल्याएको बजेटमा संसद्मा जति छलफल गरेपनि संशोधन गर्नै हुन्न भन्ने परम्परा परिवर्तन गर्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो ।जनताबाटै निर्वाचित प्रतिनिधि मन्त्री हुनुभएको छ, यसलाई ख्याल गरेर बजेट निर्माण गर्ने परम्पराको सुरुवात भइदिएदेखि हामी असाध्यै खुसी हुने थियौं । बजेटमाथि यत्रो आवाज उठ्छ, यसमा 'कमा, फूलस्टप' परिवर्तन गर्न हुँदैन भन्ने धारणा छ, यो परिवर्तन गर्नुपर्छ । सांसदको आवाजलाई सुनेर बजेटमा परिवर्तन गर्नुपर्छ, परिवर्तन गरियोस्,' उनले भने, 'बजेटमा छलफल गरिसकेपछि जस्ताको तस्तै पास गर्नपर्छ भन्ने भवना ठिक होइन । पहिले नै छलफल गरेर बजेट ल्याएको भए सांसदले, स्थानीय जनप्रतिनिधिबाट र मन्त्रीले सांसदबाट आलोचना सुन्नु पर्दैनथ्यो । त्यसैले यसलाई संशोधनको बाटोमा लाने प्रयास सुरु होस् ।' सांसद खतिवडाले बजेट निर्माण पहिले नै संसद्मा छलफल गर्नुपर्ने परिपाटीको सुरुवात गर्नुपर्ने बताए ।
त्यस्तै, सांसद खतिवडाले अर्थमन्त्रालयको बहुवर्षीय योजना सम्बन्धी नीति र व्यवहारले समस्या उत्पन्न गरेको बताए । 'अहिले अर्थ मन्त्रालयले नीति ल्याएको रहेछ, पाँच करोडभन्दा कमको योजनालाई बहुवर्षीयमा नलाने,' उनले सोधे, 'अर्थमन्त्रीज्यू, बजेट दिँदा तीन करोडको भनेर दिने, पाँच करोडभन्दा तलकोलाई बहुवर्षीयमा नलाने भए त ठूलो हाल्नेको मात्रै जाने भयो बहुवर्षीयमा त । मन्त्रीहरूको मात्रै जाने भए सांसदका नजाने भए ।मन्त्रीहरूले मनलाग्दी बजेट विनियोजन गरेकोपट्टी सरकारको ध्यानाकर्षण हुनुपर्ने सांसद खतिवडाको भनाइ थियो । 'बजेट हेर्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको, कोही सालीकोतिर पनि हालिएको जस्तो देखिएको छ, कुनै-कुनै मन्त्रीहरूले । यो परम्परा नहोस् । सबैलाई समान रुपमा वितरण होस् । मन्त्रीको मात्रै होइन देशको लागि बजेट वितरण गर्ने हो,' उनले भने ।