काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीलाई विवेकले काम गर्न दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको शैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् ।जुन शासन व्यवस्था भएता पनि प्रहरीले घटनालाई निष्पक्ष ढंगले काम गर्न पाउँदा मुलुकलाई सही गतिमा लैजाने उनले बताए । कानुनको दुरूपयोग प्रहरीमार्फत हुन सक्नेतर्फ ख्याल गरेर यसअनुरुप कानुनी व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।
प्रहरीलाई विवेकले काम गर्न दिनुपर्ने र मन्त्रीले आदेश दिने अभ्यास बदल्नुपर्ने उनको प्रस्ताव छ । नेपाल प्रहरीको काम अन्य धेरै देशमा प्रशंसनीय रहेको उल्लेख गर्दै उनले प्रभावकारिताको निरन्तरताका लागि कार्यकारीले आदेश दिएपछि मात्रै प्रहरीले काम गर्ने अवस्था हुन नहुने बताए ।नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ मा प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले यो विधेयकमाथि सामान्य छलफल गरेर राज्य व्यवस्था समितिमा पठाएको छ । राज्य व्यवस्था समितिले दफावार छलफल गरेर विधेयक अगाडि बढाउनेछ ।
मुलुक संघीयतामा गएसँगै राजनीतिक संघीयता कार्यान्वयनमा गइसकेको छ । तर, नेपाल प्रहरी केन्द्रिकृत संरचनामै छ । यसकारण प्रहरी विधेयकलाई संघीयता कार्यान्वयन गर्ने विषयसँग समेत जोडेर हेरिएको छ ।प्रहरी ऐन २०१२ सालमा संशोधन हुँदै आएको यसपटक पूरानो ऐन खारेज हुने गरी नयाँ ऐन बनाउन लागिएको छ । यसकारण पनि यो विधेयक महत्वपूर्ण रहेको सांसदहरू बताउँछन् । समितिमा सैद्धान्तिक छलफल जारी छ ।