काठमाडौँ । विद्यालय शिक्षा विधेयक आज नै पारित गर्न सांसदहरूले माग गरेका छन् । संसद्को शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले आज पारित गर्ने विषय स्थगित गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा विरोध जनाउँदै शिक्षा समिति सदस्यहरूले विधेयक आजै पारित गर्न माग गरेका हुन् ।शिक्षामन्त्री पन्तको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक श्यामलाल घिमिरेले अर्को दिनका लागि बैठक स्थगित गर्नुपर्ने बताएका थिए । उनले ८० प्रतिशत माग सम्बोधन भइसकेको अवस्थामा २० प्रतिशतका लागि सडकमा जानुपर्ने अवस्थाको सिर्जना गर्न नहुने बताए ।
सहमतिका आधारमा जानको लागि भएपनि आजको बैठक स्थगित गर्नुपर्ने उनले बताए । शिक्षामन्त्री पन्त र प्रमुख सचेतक घिमिरेको प्रस्तावमा सांसदहरूले आपत्ति जनाएका हुन् । उनीहरूले कुनै स्वार्थ समूहको स्वार्थमा लाग्न नहुने बताए । पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न नमिल्ने बताइन् । आजै विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै कांग्रेस सांसद डीक बहादुर लिम्बुले आजै अन्तिम रूप दिएर विधेयक पारित गर्नुपर्ने बताए । पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कानुन बनाउन पाउने संसद्को अपमान भएको बताए । विधेयक आज टुङ्गो लगाएर आजैदेखि बिट मार्ने बेला भएकोमा अन्तिममा आएर स्थगित गर्न दुखद भएको बताए ।
माओवादी केन्द्रकी सांसद् रेखा शर्माले प्रतिपक्षबाट समेत सहयोग भइरहेको अवस्थामा विधेयक पारित गर्नुपर्ने बताइन् । माओवादीकै अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले विधेयक टुङ्गो लगाउन नखोजिएकोमा कुनै षड्यन्त्र भइरहेको बताइन् । एमाले सांसद दिपा शर्माले अझै २/४ घण्टा कुरेर भएपनि विधेयक पारित गर्नुपर्ने बताइन् । लोसपा नेपालका सांसद राम प्रकाश चौधरीले आज विधेयक पारित नभएको खण्डमा भोलीबाट आफू सहभागी नहुने बताए ।एमाले सांसद प्रभु हजाराले शिक्षकहरूको आन्दोलन हावादारी भएको बताउँदै संसद्ले विधेयक बनाउनुपर्ने बताए । पूर्व शिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले पहुँचवालाको प्रभावमा विधेयक अड्काउने काम गर्न नहुने बताइन् । एउटा बुँदामा अल्झिएर बस्न नहुने बताउँदै भोलि अर्को समूह आएको खण्डमा के गर्ने भनेर प्रश्न समेत गरिन् ।

