काठमाडौं १२ असार। सरकारले औषधिमा पनि १५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । मूल्य बढाउनुपर्ने औचित्य भए मन्त्रिपरिषद्ले नियमावली, निर्देशिका र कार्यविधि बनाउन वा संशोधन गर्न सक्ने कानुनी व्यवस्था छ । तर, मन्त्रिपरिषद्लाई छलेर स्वास्थ्यमन्त्रीबाटै निर्णय गराउन ‘कार्यप्रक्रिया’ तयार पारिएको छ ।औषधि व्यवस्था विभागका अनुसार मुलुकमा वार्षिक ६० अर्ब बराबरका १८ हजार थरी औषधिको कारोबार हुँदै आएको छ । औषधिजस्तो संवेदनशील र अत्यावश्यक वस्तुको मूल्यमा सर्वसाधारणलाई सहुलियत दिन सरकारले मूल्य नियमन गर्नुपर्ने हो । तर, औषधि व्यवस्था विभागले अंगप्रत्यारोपण, मुटु, मिर्गौला, ब्लडप्रेसर, फोक्सो, सुगर, पत्थरी, मानसिक रोग, छाला, डायलसिस, नाक, कान, घाँटी, दन्तसम्बन्धी औषधिको मूल्य तोकेकै छैन । हालसम्म क्यान्सरलगायत दीर्घरोगका २७ थरी र ९० थरीका एन्टिबायोटिक गरेर जम्मा १२७ औषधिको मात्र मूल्य मात्र तोकिएको छ । यी औषधिको पनि मूल्यवृद्धि गर्न लागिएको हो ।
मूल्य निर्धारण नगरिएका औषधिको हकमा स्वदेशी वा विदेशी कम्पनीको सन्दर्भ मूल्य र अन्य ब्रान्डको मूल्यका आधारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण हुँदै आएको छ । यी औषधिको मूल्य उद्यमी र व्यापारीको तजबिजमा निर्धारण हुन्छ । ‘औषधिको मूल्य समायोजनसम्बन्धी कार्यप्रक्रिया २०७९’ स्वीकृत भएमा हाल बजारमा बिक्री भइरहेका स्वदेशी तथा विदेशी कम्पनीका औषधिको मूल्य १५ प्रतिशतसम्म बढ्नेछ ।
पार्टीले राजीनामा दिन भनेपछि स्वास्थ्यमन्त्री खतिवडा यो निर्णय सकेसम्म छिटो गर्ने प्रयत्नमा रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । त्यस्तै सचिव पोखरेलले पनि मूल्यवृद्धिको विषयमा प्रतिक्रिया दिन मानेनन् । विभागका सूचना अधिकारी सन्तोष केसीले भने कार्यविधि वा निर्देशिका बनाउँदा ढिलाइ हुने र मन्त्रिपरिषद्बाट स्वीकृति गराउनुपर्ने भएकाले तत्काल सहजताका लागि कार्यप्रक्रिया बनाइएको जिकिर गरे । ‘मन्त्रीस्तरीय निर्णयबाट काम सम्पन्न गर्न कार्यप्रक्रिया अघि बढाइएको हो, अझ व्यापारीहरूको माग २० प्रतिशत थियो, हामीले उल्टो १५ प्रतिशत बनाएका हौं,’ उनले भने, ‘कार्यविधि पटक–पटक फिर्ता भएपछि कार्यप्रक्रिया बनाइएको हो, निर्णयमा सहजताका लागि यो प्रक्रिया बनाइएको हो ।’

