काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् र न्यायालयमा जे चलिरहेको छ, त्यो दलहरूले जनतामाझ गरेको कबुलविपरीतको अभ्यास भएको बताएका छन्। उनले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरेको कबुल विपरीत भइरहेको बताएका हुन्। शुक्रबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष दाहालले लोकतन्त्र र शान्ति प्रक्रियामा स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताए। कोइरालाको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि बढेकोमा गम्भीर प्रश्न उठाए। 'हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौँ त?' उनले प्रश्न गरे।
उनले कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको बताए। 'अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि- के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ?,' उनले भने गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष दाहालले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
'गिरिजाबाबुले जनताको पक्षमा गरेका कामको स्मरण गर्दै गर्दा आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ,' उनले भने। उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको बताए। 'म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौँ भने स्थिति गम्भीर छ,' उनले भने कार्यक्रममा उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताएका हुन्। 'सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ- यो सबै गम्भीर समीक्षा आवश्यक छ,' उनले भने।

