नेपालगन्ज असार । भारतीय पर्यटकहरुलाई लक्षित गरी विगतका वर्षहरुमा शुरु गरिएको कैलाश मान सरोवरको यात्रा विगतमा करोनाकालदेखि २०७६ यता बन्द रहेको हुँदा हाल केही दिन अगाडीदेखि पुनः शुरु भएकोमा पर्यटकहरुद्वारा खुशी व्यक्त गरिएको छ । जसबाट नेपालगन्जमा रहेको होटल व्यवसायीहरुलाई एक–दुई तीन सम्म भारतीय पर्यटकहरुलाई सेवा दिन मौका मिल्ने गरेकोमा विगत ०७४ देखि बन्द हुँदा आर्थिक नोक्सानी हुँदै आएकोमा हाल केही दिन अगाडी देखि शुरु भएदेखि नेपालगन्जका होटल व्यवसायीहरुले समेत खुशी व्यक्त गरेका छन् । कोरानाकालमा चाईनाले भारतीय पर्यटकहरुलाई रोक लगाएपछि कैलाश मानसरोवरसम्मको यात्रा रोकिएको थियो ।
धार्मिक पर्यटकहरुको लागि कैलाश मानसरोवरको यात्रा गर्दै सबभन्दा छिटो र छरितो भनेकै नेपालगन्ज नाका हुँदै गरिने यात्रा नै रहेको मानिन्छ । जसबाट भारतीय धार्मिक पर्यटकहरुले फाईदा उठाउँदै आईरहेका छन् ।  विगत केही दिनको मात्र धार्मिक पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको नेपालगन्जमा रहेका होटल व्यवसायीहरुको भनाई रहेको छ । टुर एण्ड ट्राभल्सका कम्पनीका सञ्चालक पदम सुवेदी अनुसार करीब ८ सय देखि १ हजारसम्म धार्मिक पर्यटकहरुले कैलाश मानसरोवरको यात्रा यस नेपालगन्ज नाकाबाट हालसम्म गरिसकेको बताएका छन् ।
होटल व्यवसायीहरुका अनुसार भारतको विभिन्न स्थानहरुबाट आउने धार्मिक पर्यटकहरुले एक रात भएपनि नेपालगन्जमा बास बस्ने गरेका छन् भने कतिपय यात्रुहरुले नेपालगन्जमा बसोबास गरेर बागेश्वर माताको दर्शन समेत गर्ने गरेका छन् । जसले गर्दा यहाँका स्थानीयहरुले प्रत्यक्ष आर्थिक लाभ हुने गरेको बताउँछन् । तर नेपाल सरकारले यहाँ रहेका पर्यटकीय स्थलहरुको जुन स्तरबाट प्रचारप्रसार गर्नु पर्ने हो सो अनुसार नगरेको हुँदा भारतबाट आउने धार्मिक पर्यटकहरुलाई बाँके,बर्दिया लगायत जिल्लामा धार्मिक पर्यटकीय तवरले कहाँ कहाँ कति समयमा,कति खर्चमा पुग्न सकिन्छ भन्ने जानकारी अभाव हुँदा उनीहरुले नेपालगन्ज नाका हुँदा सिधै कैलाश मानसरोवर यात्रा गर्ने गरेका छन् । 
