धुलिखेल । काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषद्ले कानुन तथा मानविकी संकायमा डिन नियुक्त गरेको छ । कानुन संकायको डिनमा डा. शिव कुमार गिरी र मानविकी संकायको डिनमा डा. उद्धव प्याकुरेल नियुक्त भएका हुन् ।राजनीतिक समाजशास्त्रका ख्यातिप्राप्त अध्येता तथा टिप्पणीकार डा. उद्धव प्याकुरेलले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्लीअन्तर्गत सामाजिक प्रणाली अध्ययन केन्द्रबाट विद्यावारिधि गरेका हुन् ।
सामाजिक न्याय, समावेशिता, राज्य पुनर्संरचना, द्वन्द्व, लोकतन्त्र, पहिचान, निर्वाचन, भारत–नेपाल सम्बन्धजस्ता विषयमा गहन अध्ययन तथा विश्लेषण गर्दै आएका प्याकुरेल काठमाडौँ विश्वविद्यालयमा विगत लामो समयदेखि अध्यापनरत छन् ।
प्याकुरेल यसअघि विश्वविद्यालयको प्रवक्ता, मानविकी संकायको सहायक डिन तथा उपकुलपति कार्यालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्पर्क तथा सहकार्य महाशाखाको कार्यवाहक निर्देशकका रूपमा समेत कार्यरत भइसकेका छन्। राजनीतिक समाजशास्त्र, सामाजिक समावेशीकरण, दलित समुदायको अवस्था तथा सशस्त्र द्वन्द्वजस्ता विषयमा उनी विशेष रूपले सक्रिय रहँदै आएका छन् ।

