काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सभापति लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्त्याउने बताए ।उनले आजको भोलि नै परिणाम खोज्ने ‘लत’ ले गर्दा बारम्बार विकल्पको खोजी भइरहने उल्लेख गर्दै रास्वपा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको स्पष्ट पारे । पार्टीको सांगठनिक संरचनाका बारेमा चर्चा गर्दै उनले जगभन्दा संरचना स्ट्रक्चर ठूलो भएको स्वीकार गरे ।जनताको तीव्र परिवर्तनको चाहना र भरोसाका कारण पार्टीको जग बलियो हुनुभन्दा अगावै यसले ठूलो आकार लिएको उनको भनाइ छ ।उनले भने, ‘विकल्प खोज्नु मात्र समाधान होइन, आफैँमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो । रास्वपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ । जब कोही सही बाटोबाट विचलित हुन्छ र जनआवाज सुन्न छाड्छ, तब मात्र विकल्पको खोजी हुन्छ । तर हामीले यस्तो काम गर्नुपर्छ कि जनताले हाम्रो अर्को विकल्प खोज्नु नपरोस् । जग बलियो नबनाई संरचना मात्र विशाल भएर हुँदैन ।
उनले थपे, ‘युवाहरूको चाहना र परिवर्तनको आवश्यकताले गर्दा रास्वपा जगले धान्न सक्नेभन्दा ठूलो आकारको बनेको हो कि भन्ने मलाई महसुस हुन्छ । अब यसलाई सुरक्षित र सुदृढ बनाउन जहाँ–जहाँबाट आवश्यक पर्छ, त्यहाँ टेको दिएर अड्याउन हामी तयार हुनुपर्छ ।उनले पार्टीलाई जगैदेखि मजबुत बनाउँदै आगामी दिनमा जिम्मेवार ढंगले अघि बढ्ने प्रतिaद्धता समेत व्यक्त गरे ।
ADVERTISEMENT

