बुटवल । लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ ।बुधबार राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई उपकरणहरू हस्तान्तरण गरेका हुन् ।
प्रहरीलाई हस्तान्तरण गरिएको उपकरणहरूमा सवारीसाधनको नम्बर प्लेट चिन्न सक्ने क्यामरा लगायत रहेका छन् । यसअन्तर्गत ४ थान नम्बर प्लेट चिन्ने क्यामेरा, ४ थान कृत्रिम बुद्धिमत्ता (एआई) क्यामेरा, २ थान भिडियो रेकर्ड गर्ने यन्त्र एनभीआर २ थान मोनिटर, रातको समयमा दृश्य स्पष्ट देखिने ४ थान बत्ती, ४ थान फलामका पोल, १ हजार मिटर अप्टिकल फाइबर, ४ थान इन्टरनेट चलाउन सहयोग गर्ने पिओई स्विच, २ थान फाइबर मोड्युल स्विच, २ थान पोल यु.पी.एस. र २ थान ब्याट्रीसहित यु.पी.एस. सहित १ थान केन्द्रीय निगरानी तथा भिडियो व्यवस्थापन सफ्टवेयर हस्तान्तरण गरिएको हो ।
त्यस्तै, सुरक्षाको थप मजबुतीका लागि प्रयोग गरिने २ थान ड्रोन क्यामेरा, जसमा २६५ जीबीको एसडी कार्ड समेत समावेश गरिएको छ । त्यसैगरी, व्यक्तिहरूको प्रवेश निगरानी गर्न प्रयोग हुने २ थान वाकथ्रु गेट र त्यससँगै २ थान एभीआर समेत प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
मन्त्री अग्रवालले प्रविधिको प्रयोगमार्फत सुरक्षामा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले यस्ता उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए । उनले सुरक्षाका क्षेत्रमा प्रदेश सरकारले गरिरहेको लगानीले अपराध नियन्त्रण, सडक सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रहरी नायव महानिरीक्षक भट्टले प्राप्त उपकरणहरूलाई सुरक्षाका विभिन्न गतिविधिमा प्रभावकारी रूपमा प्रयोग गरिने बताए ।
ADVERTISEMENT

