काठमाडौं । आम जनता पार्टी आजपा का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एकै प्रकरणमा मुछिएका दुई मन्त्रीहरूमध्ये एकलाई मात्र राजीनामा गराएर अर्कोलाई संरक्षण दिएको आरोप लगाएका छन्।काठमाडौंस्थित सिंहदरबारमा आजपाको संसदीय दलको कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साहले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा गराइएपनि सोही घटनामा मुछिएका सहकारी मन्त्री बलराम अधिकारीलाई प्रधानमन्त्रीले जोगाइरहेको दाबी गरे।
'प्रधानमन्त्रीले एउटै घटनामा संलग्न एक मन्त्रीलाई राजीनामा गराउनुभयो, तर अर्को मन्त्रीलाई संरक्षण दिइरहनुभएको छ,' साहले भने, 'यसरी कारबाहीमा विभेद गर्नु न्यायसंगत छैन।'त्यसैगरी, अध्यक्ष साहले पछिल्लो समय देशभर पानीको हाहाकार भइरहेका बेला सरकार नागरिकको आधारभूत आवश्यकताप्रति संवेदनशील नदेखिएको आरोप पनि लगाए। उनले तराई–मधेसका इनार, चापाकल सुक्न थालेको, काठमाडौंका सुकुम्बासी बस्तीमा खानेपानीको चरम अभाव भएको भन्दै तत्काल आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रकृतिले दिएको हावापानी सबैको साझा हो, त्यसमा कुनै भेदभाव हुँदैन,' साहले भने, 'तर, विदेशी मिनरल वाटर पिउने प्रधानमन्त्री नेपाली जनतालाई सामान्य खानेपानीबाट समेत वञ्चित गर्दै हुनुहुन्छ। यो मानवता विरोधी कार्य हो।काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) कार्यालयअगाडि सुकुम्बासी तथा अव्यवस्थित बस्तीको संघले दिनहुँ धर्ना दिइरहेको स्मरण गराउँदै साहले सरकार गम्भीर नबने स्थिति विस्फोटक हुन सक्ने चेतावनी दिए।
ADVERTISEMENT

