काठमाडौँ — सत्तारुढ दल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सिटौलाले गठबन्धन सरकारले पछिल्लो एक वर्षमा गरेका सम्पूर्ण कामको जिम्मेवारी एमाले र कांग्रेसले संयुक्त रुपमा लिनुपर्ने बताएका हुन् ।
सिटौलाले सरकारले राम्रा काम पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोष कांग्रेस र एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने उल्लेख गरे ।अहिले देशमा कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरूले सम्हाल्नुभएको छ । यो सरकारका गुण, दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ,' उनले भने, 'हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत । केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन । जनताका लागि हामीले नै काम गर्ने हो ।
शिक्षाको विकासमा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको सिटौलाको भनाइ थियो । तीनवटा तह मिलेर नै शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि जिम्मेवार बन्नुपर्ने उनले बताए । उनले प्रतिनिधिसभा अन्तर्गतको समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने पनि बताए ।

