काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहत निकायका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका हुन् ।
उनले भने, “विशेषगरी तराई–मधेस क्षेत्रका आठ जिल्लामा देखिएको खानेपानी समस्यालाई समाधान गर्न हाम्रो सम्पूर्ण जनशक्ति परिचालन गरौँ, हाम्रो टिम र जनशक्ति खटिए त्यहाँको खानेपानीको समस्या समाधान गर्न सकिने छ ।
यसैगरी मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको तराई–मधेस क्षेत्रको खानेपानी सङ्कटलाई मध्यनजर गर्दै समाधानका लागि दातृ निकाय, अन्तरराष्ट्रिय संघ संस्था तथा छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि पत्राचार गर्नसमेत निर्देशन दिए । आजको बैठकबाट विपद् व्यवस्थापनका लागि बजेट सुनिश्चितता, विनियोजित बजेटको लचिलो प्रयोगका लागि सहमति, खानेपानी आपूर्तिको व्यवस्थापका लागि सहजीकरण गर्न टोली खटाउने, अन्तरराष्ट्रिय सहयोगका लागि पहल गर्ने लगायतका निर्णय गरिएको मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए ।
ADVERTISEMENT

