काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर विपक्षी दलहरू बाहिरिएका छन् ।सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
छलफलमा प्रतिपक्षले राजनीतिक नेतृत्व समेत जोडिएकाले त्यसअनुसार कारबाही सिफारिस हुनुपर्ने अडान राखेको छ । तर, सत्तापक्षले कर्मचारीले गरेको काममा राजनतिक व्यक्तित्वले विश्वास गरेको तर्क गरिरहेका छन् ।कुलिङ पिरियडको प्रावधान निष्क्रिय हुने भाषा प्रयोग हुनुमा सम्बन्धित व्यक्तिहरू किटान गर्ने र उनीहरूको परिभाषित जिम्मेवारी र परोक्ष भूमिका दुई खण्ड गरेर प्रतिवेदन लेख्ने तयारी थियो ।
जसअन्तर्गत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, समितिका तत्कालीन सचिव सुरजकुमार दुरा समेत रहेका छन् ।
यसका अलवा मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिवसँग समेत समितिले सोधपुछ गरेको छ ।यी कर्मचारीको समेत भूमिका रहेको आशंकामा समितिले सोधपुछ गरेको थियो ।समितिका सदस्यहरू निरन्तर छलफलमा छन् ।स्रोतका अनुसार, नेपाली कांग्रेसले सभापतिलाई यो प्रकरणमा जोड्न नमिल्ने बताइरहेको छ भने एमालेले मुख्यसचिव र संसद्का महासचिवलाई जोड्न मिल्दैन भनेर जोड गरिरहेका छन् ।

