काठमाडौं १३ असार।चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्वाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार पछिल्लो तीन महिनामै आठ हजार २६४ सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । यसअनुसार गत चैतमा दुई हजार ५२६, वैशाखमा दुई हजार ५२८ र जेठ महिनामा तीन हजार २१० सवारी साधनलाई कारबाही गरिएको छ ।
गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उनको भनाइ छ । ती दुर्घटनामा परेर ९१ जना घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर आठ मात्रै रहेको छ । उक्त महिनामा ११५ जना घाइते भएका थिए ।