काठमाडौँ — कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले पार्टीमा एकताको आवश्यकता रहेको बताएका छन् । पार्टीमा एकता कायम रहेमा कसैले पनि कमजोर पार्न नसक्ने र समस्या पनि नआउने बताए ।काठमाडौंमा बुधबार आयोजित नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले कांग्रेस एकताको मूलमन्त्रमा अघि बढ्नुपर्ने बताएका हुन् ।
कांग्रेसलाई एकताबद्ध गरेर समस्याबाट मुक्ति पाउनुपर्ने लेखकको भनाइ थियो । 'कांग्रेस एउटै मूलमन्त्रका साथ अघि बढ्ने हो भने समस्या हुँदैन र कांग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूलमन्त्र भनको कांग्रेसभित्र एकता नै हो,’ उनले भने ।
नेपालमा लोकतन्त्रिक व्यवस्था स्थापना गर्नका लागि राजनीतिक व्यक्तिहरूको ठूलो योगदान रहेको पनि लेखकको भनाइ थियो । पार्टीमा फरक मत रहेमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसका नेता आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने उनको भनाइ थियो ।

