काठमाडौँ — संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालमा हवाई दुर्घटनाबाट हुने क्षतिको विषयमा गत ५ वर्षयता भएका घटनाहरूलाई आधार मानी सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
हवाई तथा उड्डयन सुरक्षासम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउन सरकारलाई यस्तो निर्देशन दिएको समितिका सभापति राजकिशोर यादवले बताए । समितिको ५५औं बैठकले पर्यटन मन्त्री, पर्यटन सचिवलगायतका उच्च अधिकारी तथा कानुनविद् सहभागी बैठकमा भएको छलफलका आधारमा दुई बुँदे निर्देशन दिएको हो।
एक अर्को निर्देशनमा हवाई सुरक्षासम्बन्धी कानुनी व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र नीतिगत व्यवस्थासँग मेल खाने गरी प्रभावकारी बनाउन सरकार तथा पर्यटन मन्त्रालयलाई भनिएको छ । यसका लागि मन्त्रालय र सम्बन्धित निकायबीच समन्वय गरी थप प्रावधान ल्याउन समितिले निर्देशन दिएको छ ।

