काठमाडौँ । सोमबारबाट सुरु भएको नवरात्रको पहिलो दिन, घटस्थापनाको अवसरमा आज काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। शुभ साइत ९ः१३ बजे जमरा राखिएको थियो।
यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ पनि गरिएको थियो। दसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहेको छ। सोमबार बिहानै नित्यकर्म सकेर नजिकको नदी वा चोखो ठाउँबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा राखेर जमरा छर्ने गरिन्छ।
घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा दीप, कलश र गणेशको स्थापना गरी शक्तिस्वरूपा दुर्गाको आह्वान गरी पूजा गरिन्छ। नवरात्रीभर दुर्गाका तीन रूपहरू - महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने प्रचलन छ। नवरात्रको नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजाअर्चना गरिन्छ।
ADVERTISEMENT

