राप्ती सोनारी गाउँपालिकामा १८४ वटा घरपालुवा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन
zeenepal
२०८२ आश्विन १३,
6
Shares
नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकामा १८४ वटा घरपालुवा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । १९औँ विश्व रेविज दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी अभियानअन्तर्गत पालिकाका ९ वटै वडामा घरपालुवा कुकुरलाई निशुल्क भ्याक्सिन लगाइएको हो ।
गाउँपालिकाले असोज ६ गतेदेखि सुरु गरेको कार्यक्रमलाई पालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रूपमा उद्घाटन गरेका थिए । एक साता सम्म गाउँपालिकाको प्रत्येक वटा वडामा गएर १७३ वटा कुकुरलाई भ्याक्सिन लगाईएको थियो ।कार्यक्रमको अन्तिम दिन आइतबार गाउँपालिका कार्यालयमा छुटेका थप ११ वटा कुकुरलाई भ्याक्सिन लगाइएको पशुशाखा प्रमुख तथा पशु विकास अधिकृत जयबहादुर कार्कीले जानकारी दिए ।
प्रमुख कार्कीका अनुसार पछिल्लो समय गाउँघरमा घरपालुवा कुकुर पाल्ने स्थानीयको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यस सन्दर्भमा उनले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदा मात्र रेविज नियन्त्रणमा प्रभावकारी परिणाम देखिने विश्वास व्यक्त गरे ।