सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ।मंगलबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालित विभिन्न स्वास्थ्य संस्था विरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाइएको केही संस्थालाई मापदण्डमा आउन म्याद दिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जानकारी दिए ।
विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा सञ्चालन गर्दै आएको हाल विनायक फार्मेसीको नाममा संचालित फार्मेसीले समेत अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।मेलम्ची पोलिक्लिनिकलाई संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड पूरा नगरेको भन्दै ३० दिने म्याद दिइएको बताइएको छ । त्यस्तै मेलम्चीमा सञ्चालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही सङ्कास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ।अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानुनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने चेतावनी दिएको छ । जिल्लाको संयुक्त अनुगमन टोलीले जिल्लाभर अनुगमनलाई तिब्रता दिने जनाएको छ ।
ADVERTISEMENT

